८ फागुन, रौतहट । श्रीमान् विदेश (मलेशिया) जाने भएपछि गुजरा नगरपालिका-८ जोगौलियाकी कुन्तीकुमारी चौधरीले डिप्रोस लघुवित्तबाट ६५ हजार ऋण लिइन् । विदेशबाट श्रीमानले पठाएको पैसाले ऋण चुक्ता गर्छु र छोराछोरीलाई राम्रो स्कुलमा पढाउँछु भन्ने सोचेर कुन्तीकुमारीले लघुवित्तबाट त्यो ऋण लिएकी थिइन् ।
तर, लघुवित्तको ऋणले उनलाई यसरी गाँज्यो कि त्यो पैसा तिर्न अहिले उनले मिटरब्याजमा समेत ऋण लिएकी छिन् । श्रीमानले विदेशबाट पठाएको पैसा लघुवित्तको ब्याज तिर्नै ठिक्क भएपछि घर-खर्च चलाउन अर्को लघुवित्तबाट थप ऋण लिइन् ।
घर तोड हामी जग्गा बेच्छौं भन्छन्’ कौशर भन्छिन्, ‘बिरामी श्रीमानलाई लिएर म कहाँ जानु ?’ जीवन-मरणको दोसाँधमा पुगेका महिलासँग यस्ता अनुत्तरित प्रश्न कति छन् कति !
लघुवित्तको ऋण-चक्रमा परेका हरेकजसो घरमा अत्यासलाग्दो कथा छ । देहातका गाउँमा ताल्चा लगाएका घर देखियो भने दुई अनुमान लगाउन सकिन्छ । पहिलो : लघुवित्तको ऋण तिर्न नसकेर छाडिएको घर । दोस्रोः ब्याज माग्न आउने कर्मचारीबाट जोगिन महिलाहरू लुक्न गएको ।
बारा जितपुर सिमरा उपमहानगरको नगौल, सिर्जना नगर र रौतहटको चन्द्रपुर, गुजरा नगरपालिकाका महिलाले लघुवित्तका कर्मचारीको तनाव झेल्न नसकेपछि आफूहरू लुक्न जंगल जाने गरेको पीडा सुनाए ।
लघुवित्तको यो यातना यत्तिमै सकिंदैन । रौतहट चन्द्रपुर नगरपालिका ६ मोतिहायीकी अनिता चौधरीले लघुवित्तको ऋण तिर्नकै लागि भनेर स्कुल पढ्दै गरेको १५ वर्षे छोरालाई निर्माण मजदुरको काम गर्न बुटवल पठाइन् ।